नेपालमा पहिरो पीडितहरुलाई सहयोग

प्रकाशित २८ फेब्रुअरी २०२१ पढ्न लाग्ने समय 3 मिनेट
नेपालमा पहिरो पीडितहरुलाई सहयोग
© Foto: People in Need

गत वर्षको वर्षायामले निकै पहिरोहरु निम्त्याएको थियो, जसले नेपालमा नेपालीहरुलाई गाह्रो अवस्थामा पुर्यायो । पिपुल इन नीडले युरोपेली आयोगको साझेदारीमा सिन्धुपाल्चोक, धादिङ र गोरखा जिल्लाका पहिरो प्रभावित जोखिमयुक्त समुदायलाई सहयोग पुराउँदै आइरहेको छ । स्थानीय साझेदार संस्था फेज नेपालसँगको साझेदारीमा ‘पहिरो आपत्कालीन प्रतिकार्य’ परियोजनाले १४० घरधुरीलाई अस्थायी आवास सामग्री र १८० घरधुरीलाई गैर खाद्यान्न वस्तु वितरण गरको थियो ।

अस्थायी आवास निर्माण गर्न आवासका सामग्रीहरुः जस्तापाता, सादा पाता, र त्रिपाल उपलब्ध गराएको थियो । त्यस्तै २०० घरधुरीले सरसफाई र स्वच्छताको सामग्री प्राप्त गरे भने १०५ घरधुरीले जाडोको सामग्री (कम्बल, म्याट, प्लाष्टिकको बोरा, ज्याकेट, पन्जा, पछ्यौरा, टोपी र सौर्य बत्ती) सहयोग स्वरुप प्राप्त गरे ।

सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका घुम्थाङकी स्थानीय बासिन्दा ६२ वर्षिय खड्क कुमारी खड्का भन्छिन्, “परियोजनाको कारण आज मसँग बस्नको लागि वास छ नत्र म जीवनभर वासको निम्ति भौँतारिरहन्थे । मेरो टाउको माथि छतको लागि परियोजना प्रति कृतज्ञ छु । ”

खड्का दम्पती जो कृषिमा निर्भर छन्, करिब ५ वर्षको अन्तरालमा दुई ठूलो प्राकृतिक प्रकोपको चपेटामा परे । २०७२ सालको विनाशकारी भूकम्पमा उनको घरलाई ठूलो क्षति पुग्यो । दुई तल्ले घरको माथिल्लो तल्ला माटोमा परिणत भयो । त्यस पश्चात् आफूसँग भएको केही बचत प्रयोग गरी सोही घरलाई पुर्नस्थापना गरी त्यही बस्न थाले । भूकम्पको पीडालाई थाती राखेर खड्का दम्पतीले दुख सुख गरेर जीवनलाई सकारात्मक रुपमा अगाडि बढाए । तर वर्षायाममा उनीहरुको जीवन सदाका लागि परिवर्तन भयो । २०७७ साल भदौमा गएको पहिरोले उनीहरुको घर र जग्गालाई ठूलो हानी पुर्यायो ।

उनको आफ्नै भन्न कुनै घर छैन

खड्क कुमारी न्यास्रो मान्दै उक्त घटना सम्झिन्छिन्, “ मेरो मस्तिष्कमा त्यो कालो क्षण अझै ताजा छ । शनिबारको मभ्यरातमा हामी गहिरो निन्द्रामा थियौँ । मेरो श्रीमान्ले केही खसेको आवाज सुन्नु भयो र बाहिर के रैछ भनेर हेर्न जानुभयो । बाहिर पुग्दा उहाँले हाम्रो घरको रेलिङ खसेको देख्नुभयो र झुट्टै गाउँमा पहिरो गएको कुरा थाहा पाउनुभयो । त्यसपछि उहाँले मलाई बाहिर गुहार्नुभयो ।” 

उनी थप्छिन्, “ हामी ज्यान जोगाउन भाग्यौँ । भाग्ने क्रममा मेरो श्रीमान्को दाहिने खुट्टामा ढुँगाले चोट लाग्यो र उहाँ लड्नु भयो । त्यसपछि उहाँ हिड्न सक्नु भएन त्यसैले मैले उहाँलाई सुरक्षित स्थान सम्म घिसारेर ल्याएँ । उहाँलाई ल्याउने क्रममा ढुँगाले मेरो ढाडमा पनि हान्यो । गाउँलेको मद्दत लिएर मेरो श्रीमान् लाई तुरुन्तै उपचारको लागि काठमाण्डौ लग्यौँ । उपचारमा खटेका चिकित्सकले उहाँको नशामा गहिरो चोट परेको कारणले हिड्डुल गर्न नसक्ने जानकारी दिए । केही दिन अस्पतालमा बसेर छोरीको रहोबरमा श्रीमान् लाई छोडेर म घर फर्केँ ।” उनीहरुका दुई छोरीहरु विवाह भएर बाह्रबिसे नगरपालिकाकै अर्को गाउँमा बस्छन् भने उनीहरुका छोरा घुम्थाङमै आफ्नो परिवारसँग छुट्टै बस्छन् ।

गाउँ फर्केपछि खड्क कुमारी हतास र निराश भइन् । पहिरोले उनको घर पूर्ण क्षति भयो र जग्गा बगाएर लग्यो । एकातिर उनको श्रीमान् जीवनका लागि अस्पतालमा संर्घष गरिरहेका थिए भने अर्काे तिर उनको घर पूर्ण क्षति भएको थियो । खड्क कुमारीले नागपुजेमा रहेको अस्थायी शिविरमा टेन्टको लागि अनुरोध गरिन् । तर क्याम्प कमिटीले उनलाई शिविरमै रहेका आफनो छोरासँग बस्न अनुरोध गरे । पारिवारिक कलहबाट टाढा रहन उनले छोरासँग शिविरमा नबसी छिमेकीको घरमा शरण लिने निधो गरिन् । 

खड्क कुमारीले थुप्रै संघ संस्था र सरकारबाट खाद्यान्न, गैर खाद्यान्न वस्तु, पैसा र अन्य सामाग्री राहतको रुपमा पाइन् । उक्त राहतले उनलाई जीविकोपार्जनमा केही मद्दत त पुर्यायो तर उनलाई भने बस्नको लागि वास नभएको पीडाले सताइरहेको थियो । श्रीमान्को महँगो उपचार र आफनो नाजुक आर्थिक अवस्थाले गर्दा उनले घर बनाउने सपनालाई पाखा लगाइन् ।

अस्थायी आवास भएता पनि यो मेरो आफनो घर हो

खड्क कुमारीले राहत स्वरुप पाएको आवास सामग्रीहरु प्रयोग गरी सुरक्षित स्थानमा अस्थायी आवास निर्माण गरिन् । उनले एक कोठा, भान्छा घर र शौचालय परियोजनाले दिएको र आफनो पुरानो घरको जस्तापाता प्रयोग गरेर सम्पन्न गरिन् । उनले परियोजनाबाट जाडोको सामाग्रीहरु पनि सहयोग स्वरुप प्राप्त गरिन् ।

“परियोजनाको सहयोगको लागि म आभारी छु । अस्थायी आवास भएता पनि यो मेरो आफनो घर हो । सुत्नको निम्ति म चिन्तित हुनु पर्दैन र म यहाँ शान्तसँग जीवनयापन गर्न सक्छु । म अब श्रीमान् घर फर्कने दिनको प्रतिक्षामा छु । उहाँको उपचार भइरहेको हुँदा उहाँ छोरीसँगै शहरमा बस्नुहुन्छ तर म उहाँ छिट्टै घर फर्कने कुरामा आशावादी छु,” हर्षित हुंदै खड्क कुमारी व्यक्त गर्नुहुन्छ । 

Autor: क्रिजा ह्योजू, पिन फिल्ड अधिकृत

सम्बन्धित लेखहरू