नेपालमा भूकम्पपश्चात् पुनर्निर्माणका पाँच बर्ष

प्रकाशित २३ अप्रिल २०२० पढ्न लाग्ने समय 4 मिनेट
नेपालमा भूकम्पपश्चात् पुनर्निर्माणका पाँच बर्ष
© Foto: पेट्रर स्टेफान

चितवन जिल्लाको सानो गाउँ धुसा त्रिशूली नदी माथिल्तिरको एउटा पहाडमा अवस्थित छ । एकताका यहाँ बसोबास गर्ने २० परिवारहरू यहाँको शीतल बतास र मनोरम दृश्यहरूको आनन्द लिने गर्थे । तर बैशाख १२, २०७२ को दिन गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछिका भयङ्कर परकम्पहरूले उनीहरूको जीवन सदाको लागि परिवर्तन गरिदियो । धुसाकी निवासी फूलमती प्रजा भन्छिन्, “भूकम्प आउँदा म फिस्लिंगबाट फर्किरहेकी थिएँ । गाउँ पुग्दासम्म मेरो घर ढलिसकेको थियो ।”

विगत ८० बर्षमा नेपालमा गएको सबैभन्दा विनाशकारी सो भूकम्पले झन्डै ९,००० व्यक्तिको ज्यान लियो, आधा लाख भन्दा बढी घरहरू ध्वस्त बनायो र लाखौँलाई प्रभावित पार्यो । क्षतिग्रस्त घरहरूमा बस्नु जोखिमपूर्ण हुने भएकाले फूललगायतका गाउँलेले बाहिरै बस्न रोजे। “हामीले एउटा अस्थायी घर बनाउन पुराना जस्ता पाताहरूको प्रयोग गर्‍यौं,” उनी सम्झन्छिन्।

निरन्तर पहिरोको त्रासमा

धुसाका गाउँलेहरू भूकम्पको पहिले धक्काबाट बच्न सफल त भए तर उनीहरूले अझै ठूला कष्टहरूको सामना गर्न बाँकी नै थियो । भूकम्पले नेपालभरि सयौं पहिरोहरूको क्रम शुरु गरिदियो जसमध्ये दुईवटा त त्यस गाउँका घरहरूबाट केही मिटरको दूरीमै गए ।

 “हाम्रो गाउँ विकास समितिका सचिव र प्राविधिक आएर केही फोटोहरू लिए,” फूल भन्छिन् । “केही दिन पछि इन्जिनियरहरू उक्त क्षेत्रको निरीक्षण गर्न आए । उनीहरूले हामी त्यहाँ बस्न सुरक्षित नरहेको बताए ।”

इन्जिनियरहरूबाट त्यस्तो सुनेपछि फूल र उनकी छिमेकी दमन कुमारी चेपांगका लागि निरन्तर भयको वातावरण सिर्जना भयो । थप भूस्खलन र भूकम्प गएमा के होला र गाउँमा हरेक वर्ष हुने भयङ्कर मानसून वर्षाले उनीहरूको के गति पार्ला भन्ने चिन्ताले उनीहरू व्याकुल भए । फूल र दमनलाई उनीहरूले धुसा छोड्नु नै उत्तम हो भन्ने त थाहा थियो तर उनीहरूसँग अतिरिक्त जग्गा वा स्रोतसाधन केही पनि थिएन । धेरै गाउँलेहरू जोखिमबारे थाहा हुँदाहुँदै आफ्नै पुराना घरहरूको पुनर्निर्माणमा व्यस्त थिए ।

पहिरोग्रस्त क्षेत्रहरूमा बस्ने मानिसहरूलाई जग्गा किन्न सहयोग पुर्‍याउन तथा सुरक्षित क्षेत्रमा पुनर्निर्माण गर्न सक्षम बनाउन नेपाल सरकारले एउटा वित्तीय सहयोग कार्यक्रम लागू गर्यो । तर आवश्यकतामा परेका धेरै परिवारलाई सरकारी सहयोगमा पहुँच राख्न समस्या थियो । “हामी प्रक्रियाको बारेमा निकै अलमलमा थियौं । त्यसैले हामीले सहयोगको लागि आवेदन भर्न सकेनौं,” फूल भन्छिन्।

यसैलाई सहज बनाउँदै मद्दत गर्न पिनबाट हाम्रो टोली र हाम्रो पार्टनर,सामुदायिक आत्मानिर्भर केन्द्र धुसा आईपुग्यो । बेलायत सरकारको यूके एडको लगानीमा सञ्चालित ‘दिगो समाधान,’ परियोजनाको भागको रूपमा हामीले धुसाबासीहरूलाई सरकारी सहयोग कार्यक्रममा कसरी पहुँच राख्ने भन्ने बारे सल्लाह दियौं ।

दिगो समाधान कार्यक्रमले सन् २०१५को भूकम्पपछि राष्ट्रव्यापी रूपमा लागू गरिएको पुनर्निर्माण कार्यक्रमको कार्यान्वयनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग पुर्याइरहेको छ । पिन र हाम्रा पार्टनरहरूको सहकार्यबाट आजसम्म १०,५६६ सदस्यहरूसहितका २,४२८ परिवारहरूको स्थानान्तरण गरिसकिएको छ ।

२० घरका लागि जग्गा प्रमाणपत्र

कार्यक्रमको पहिलो चरण नयाँ घरहरूको लागि स्थान खोज्नु थियो । गाउँलेहरूले उपयुक्त स्थान फेला पारेर भूवैज्ञानिकहरूले ती सुरक्षित रहेको पुष्टि गरेपछि तिनका लागि जग्गा प्रमाणपत्रहरू जुटाउनु आवश्यक थियो । दमन भन्छन्, “हामीलाई आवश्यक कागजातसम्बन्धी कुनै ज्ञान थिएन। भाग्यवस, पिनको टोली मद्दतका लागि त्यहीँ थियो । तपाईंले जतिसुकै अध्ययन गर्नुभए तापनि यदि तपाईसँग त्यस्ता कागजातको अनुभव छैन भने यो निकै गाह्रो कुरा हो ।”

पिनको प्रयासपछि केही महिनाभित्र सबै २० घरहरूले नयाँ भूमि प्रमाणपत्रहरू प्राप्त गरे । यो प्रयासलाई सरकारको पुनर्वास कार्यक्रमको प्रबन्ध मिलाउन प्रयासरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समर्थन गरेको थियो ।

बीस घरहरूसहितको उक्त नयाँ गाउँको निर्माणकार्य अहिले लगभग समाप्त भएको छ। ‘हाम्रो घर’ परियोजनाको एउटा भागको रूपमा र स्थानीय साझेदार फेज नेपाल, स्कट विल्सन नेपालबिल्ड चेन्जको साझेदारीमा पिनले परिवारहरूलाई निर्माण कार्यका लागि मद्दत गरिरहेको छ । यसमा बेलायत सरकारको यूके एडले लगानी सहयोग गरेको छ । “गाउँपालिका, विद्यालय, चिकित्सालय र प्रहरी चौकी नजिकै भएकाले हामीलाई अहिले ढुक्क छ,” फूल भन्छिन्। “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो समतल क्षेत्र हो । यहाँ कुनै भीरपाखा छैनन् । त्यसैले पहिरोबाट डराउनुपर्ने अवस्था छैन ।"



नेपाली महिलाका लागि सहयोग

उनको सुरक्षा’ महिला सुरक्षामा केन्द्रित एउटा कार्यक्रम हो र यो नेपालमा पिनले गरिरहका कार्यहरूको अर्को पक्ष हो । यस पहलको मुख्य उद्देश्य धुसा जस्ता समुदायका महिलाहरूलाई कठिन परिस्थितिहरूमा सुरक्षित र स्वस्थ रहन सहयोग गर्नु हो । पिनका नेपाल देश निर्देशक याकूब स्मुत्नी भन्छन्, “पुनर्वास क्षेत्रका महिला तथा पुरुषहरू र उनीहरूका नयाँ छिमेकीहरूलाई समूहमा व्यवस्थित गरिएको छ । यी समूहहरूले तालिमहरूमा समेत भाग लिने गर्दछन्, जसअन्तर्गत उनीहरूले सफा खाने पानीको जोरजाम, सुरक्षित प्रवास र नयाँ घरमा सर्दा हुने तनावको व्यवस्थापन जस्ता महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्दछन् ।” 

सशर्त नगद अनुदानमार्फत समूहहरूलाई उनीहरूले पहिचान गरेका केही मुद्दाहरूलाई सम्बोधन गर्ने मौका दिइन्छ । यसअन्तर्गत पानी ट्यांकीको निर्माण, महिला र पुरुषका लागि छुट्टै सामुदायिक शौचालय, थप आयआर्जन तथा जाडोको तयारीका लागि टोपी, शल, पन्जा, आदि बनाउनको लागि बुनाई प्रशिक्षण, इत्यादि पर्दछन् ।

Autor: पेट्रर स्टेफान, सजना श्रेष्ठ